कविता : सामुदायिक विद्यालय

निजिकरण गर्दै गर्दा शिक्षा शासकले
बोलेनौ हामी कोही गरेनौ चुक्क
पढे तिनका सन्तति उतै
गरिवका लागि सामुदायिक विद्यालय ।

भए कैयौ कानुन संसोधन उसका हितमा
सामुदायिक संरचना विगार्नै उद्त कानुनहरु
निजि विद्यालय सहजै पाइयो अनुमति
सामुदायिकका लागि भने
धाउनु पर्ने पटक अनगिन्ति ।

अनि हाम्रा अभिभावक ?
हुँदा पैसो रमायौ उतै
फर्कायौ सकिएपछि पुनःयतै
मानौ सामुदायिक विद्यलय भण्डागृह हो
राखिन्छ जहाँ कमजोर र असाहयहरुमात्रै ।

नेता भयौ शिक्षकहरु ग¥यौ लगानी उतै
पेशा यता रोजी भविष्य उता खोजि
दिउसो ग¥यौ खै के के ।
अतिरिक्त कक्षा साँझ विहान
कठिन प्रश्नको उत्तर पाउने स्थान ।
यही ग¥यौं हैन र?

यतिमात्र हो र?
पाँच, दश,पन्ध्र हैन सत्र बर्ष खुलेन आयोग
भयौं खुशी सबै हामी
खुवायौं जागिर आफ्नालाई
भाई, भतिजा, साला, साली
खोजी दुर–दुर सम्मका नाता ।

राहत आए राजनिति, अस्थायी आए राजनिति
भएन चासो यताको जागिर पक्का नाता ढुक्क
भएन चासो कसैलाइ ।

सवै उस्तै हुन र?
हैन होलनी? त्यसो भए,
के गरे असल शिक्षकले ?

आए अभिभावक तीन चलेका विद्यालयका
भने, गुरू! बालबालिका छन साना
सक्दैनन् जान टाढाटाढा
पाँचसम्म चलाउन पहल गरौं
बरु गरौंला थोरै योगदान ।

गुरु बहकिए भावनामा
हेरे कलिला अनुहारहरु
तयार भए अभिभावकको प्रस्ताव मान्न
अनि थालियो स्वीकृति
तीनलाई पाँच, पाँचलाई आठ
आठलाई दश र दशलाई बाह्र चलाउन ।

के नै हुँदो हो, किसान अभिभावक विचरा!
दिए जमिन दुई पाथी कोदो आउने ठाउँ
काटेर आफ्ना दैनिक गाँस
श्रम गरे त्यही जमिनमा
ठडियो गाह्रो ढूङ्गा र माटोको
भवन त बन्नै सकेन ।

बरु पाईयो काठपात त बनैमा
बनाईयो खापा र चौकस पनि
अव पालो हेडसरको हातले पुर्पुरो समाउने
लेखियो प्रस्ताव पेशियो निकाय थे अनेक
खै कसले पो दया देखायो रे
पाईने भो टिनका छाना ।

खै डेस्क खै बेन्च? गुन्द्री नै ठीक !
यसरी हो चले सामुदायिक विद्यालय ।

अव खै शिक्षक कता खोज्ने ?
चहिन्न थप भार बाँड्न सारथी?
यसको पनि उपाय आयो
शुरु भो स्वेच्छिक सेवा
कतै मिले नगन्य दक्षिणा पनि ।

अव के भयो?
के हुनु र?

राज्यको कानमा खवर पुग्यो
बिजोकै छ रे सामुदायिक विद्यालय ।
स्थायी शिक्षक पठाउनु पर्ने
गरियो यहाँ पनि चलखेल ।

कहिले कहिले राहतका नाममा त
कहिले अस्थायी करार नाममा
कानुन संसोधन भइ रहे
बनेनन् आयोग खोल्ने कानुन ।

कहिले टाउका गनेर पठाईयो शिक्षक
कहिले स्वयंसेवक
कहिले कुन्नी खै के अनुदान
सत्रै थरी जम्मा गरीयो
गरियो शिक्षकको बर्गीकरण
शिक्षा उही शिक्षक फरक ! हाय !

यति मात्र भए ठीकै हो
विविध नाममा आएका दरबन्दी
हेडसरले गरे लडाईं पाईने भयो अनुदान
तेस्र्याई शर्त बीचमा ।
सलवलाए स्वार्थी तत्व
दल, स्थल, जात, भाषाका नाममा
कसरी सकिन्छ स्वार्थ पूर्ति गर्न ।
फलानो राख्ने भए पाउछौ ।

सोधे अभिभावकले
दुख गर्ने पुराना शिक्षक?
त्यो त थाहा भएन
अमुक नाममा सिफारिस छ
चाहिए लैजाउ नत्र पुग्छन अन्तै ।

गहभरि आशु पारे अभिभावक अनि प्रअले
उनका अगाडी थपिए चुनौति
शक्तिबाट आएका हरु रमाए राजनितिमा
पठनपाठनमा कस्को रह्यो र चासो?
ध्यान कहिल्यै पुगेन नीति निर्माताको ।

राजतीतिक दल स्वार्थको भङ्गालोमा हेलिए
भने डुव्यो खत्तम छ सामुदायिक विद्यालय
थाले प्रशंसा निजीको ठुलो छ योगदान शिक्षामा
सामुदायिक शिक्षकलाई वनाईरहे निरिह ।

तर पनि !
प्रयास गरिरहे हरसम्भव उनले
न स्रोत न साधन
खाजाको पैसाले कापी बाँढियो
चल्छ र कसरी यो सधैं त
हो यहीँबाट शुरुभो दुर्गति ।

खै विधि यहाँ ?
अनि खै नीति ?
सुन्छ र कसले ?
सामुदायिक विद्यालयको पिडा ।

यहाँ त जति राम्रो भए
विद्यार्थी मेहनती ठहरिन्छ ।
अनि एकादुई कमजोर भए
शिक्षक कमजोर ठहरिन्छ ।

अझै हार मान्दैन सामुदायिक विद्यालय
उसलाई राम्रै थाहा छ,
उत्पादन धेरै गर्नु छ उसले
यही देशमा बस्ने जनशक्ति ।
भुलेको छैन जिम्मेवारी
उ राज्यको प्रतिनिधि हो
भलै राज्यसँगै लडि रहनु परोस् ।

रेवतीरमण नेपाल
शिक्षक, श्री सरस्वती मा.वि., मेलम्ची १, सिन्धुपाल्चोक

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top